महिलाको बीभत्स हत्या, दुई जना पक्राउ
काठमाडौं । प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका २ पैरेकी एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। यही कात्तिक १८ गते घरबाट घाँस काट्न हिँडेकी स्थानीय महेन्द्रबहादुर थापाकी श्रीमती वर्ष ४० की छत्रकुमारी कार्की (थापा) को हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार सिन्धुलीको दूधौली नगरपालिका-१३ का ३१ वर्षीया सुरज भन्ने सूर्यबहादुर कामी र सोही ठाउँका निरन भन्ने टंकबहादुर कामीलाई पक्राउ गरिएको हो। प्रहरीले सुर्यबहादुरलाई दाङबाट पक्राउ गरेर सिन्धुली ल्याएको हो। सूर्यबहादुरले घटना घटाएको स्वीकार गरेपछि थप दुई जनाको संलग्नता पुष्टि भएको सुवेदीको भनाइ छ। टंकबहादुर निज सुर्यबहादुरकै भान्जा हुन्।
घटनामा संलग्न थप एक जना भने फरार रहेको र उनको खोजतलास भइरहेको एसपी सुवेदीको भनाइ छ। ९ दिनअघि घरबाट घाँस काट्न हिँडेकी कार्की बेपत्ता भएको खबरसँगै खोजतलासका क्रममा चार दिनपछि तीनपाटन गाउँपालिकाकै वडा नं १ को सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
