नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी

काठमाडौं ।  आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मङ्गलबारसम्ममा दुई लाख नौ हजार पाँच सय २२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यही कात्तिक २५ गतेसम्ममा एक लाख २२ हजार सात सय ४० पुरूष, ८६ हजार सात सय ८५ महिला र अन्य २७ गरी दुई लाख नौ हजार पाँच सय २२ जना नयाँ मतदाता थपिएका हुन् । कात्तिक २५ गते मात्रै १३ हजार ६६ पुरूष, १० हजार पाँच सय ६७ महिला र अन्य पाँच गरी २३ हजार छ सय ३८ नयाँ मतदाता भएका छन् ।

आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली सङ्कलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा युस्तालाई आह्वान गर्दै आउनुभएको छ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन ९पूर्वदर्ता० पनि गराउन सकिन्छ ।

अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । आयोगले हाल नामावली सङ्कलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ । निर्वाचनपछि पुनः नामावली सङ्कलन हुने भएकाले आशन्न निर्वाचनमा भाग लिन नपाउनेहरूले अहिले नामावली सङ्कलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर