नागरिकता र शैक्षिक प्रमाणपत्रमा रहेको नाम र जन्ममिति परिवर्तन गर्नका लागि मौका
काठमाडौं । सरकारले एकपटकको लागि नागरिकता र शैक्षिक प्रमाणपत्रमा रहेको नाम र जन्ममिति परिवर्तन गर्नका लागि मौका दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेसँगै एकपटकका लागि यस्तो मौका पाइने भएको हो ।
यसअघि नागरिकतासँग शैक्षिक प्रमाणपत्र लगायत अन्य पहिचानपत्रमा नाम र जन्ममिति मेल नखाएका कारण धेरैले समस्या भोग्नु परेको थियो । त्यही समस्या सम्बोधनका लागि सरकारले एकपटकका लागि नाम र जन्ममिति सच्याउन पाउने व्यवस्था गरेको हो ।
यसबारेमा ऐनमा यसअघि नै व्यवस्था भएको भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आएको थिएन । पञ्जीकरण विभागका अनुसार अहिले नियमावलीमा समेत यसबारेमा विषय उल्लेख गरिएको हो । यो नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।
