मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तमा जालझेल, एमालेभित्र असन्तुष्टि, कांग्रेसको पनि विरोध
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई हिजै बिहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेश गर्न कसरत गरिरहेका थिए ।
बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सञ्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए । प्रदेश प्रमुख भण्डारीले काठमाडौं जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराएको जनाइएको छ ।
यसैबीच एमालेका प्रमुख सचेतक हरिनारायण महतोले संविधानको १६८ को उपधारा ३ बमोजिम नै एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक महतोले ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिएका छन् । ‘मैले हिजो नै दलका नेता यादवलाई भेटेर स्पष्टरुपमा भनेको थिएँ– उपधारा ३ मा जानका लागि दबाब नदिनुस्, गल्ती काम नर्गुस् । उपधारा २ अनुसार नै अगाडि बढ्नुस्,’ प्रमुख सचेतक महतोले भने, ‘तर यिनीहरुले भित्रभित्रै षड्यन्त्र गरेर, के कहाँबाट परिचालित भएर, हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिबास कालापानीको पानस होटेलमा गएर सपथ लिए ।’
यसैगरी नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ । यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने कांग्रेसको आशंका छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दुस्खद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’
