बालेन र उनको परिवारलाई घरबाहिर निकाल्न सुकुम्वासीलाई दुर्गा प्रसाइँको उक्साहट
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीका समस्यामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध लड्ने घोषणा गरेका छन् । आइतबार काठमाडौँको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेका उनले मेयर बालेनविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका हुन् ।
बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन् । उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे । सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने भन्दै उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिए ।
मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताए । उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साए ।
