स्थानीयको अवरोधपछि काठमाडौंमा मेलम्चीको पानी बन्द
काठमाडौं । मेलम्ची बाढीपीडित, सामान आपूर्तिकर्तालगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौं पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।
उनले भने, ‘गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौंमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।
विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।
मेलम्चीको पानी काठमाडौंमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौंको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
मेलम्ची र हेलम्बुका जनताले काठमाडौं खानेपानी लिमटेडले कूल महसुल उडाएको २५ प्रतिशत शुल्न स्थानीय विकासमा लगानी गर्नुपर्ने मूलभूतः माग राखेका छन् जुन पूर्वमन्त्री यादवले हुन्छ भनेको स्थानीय वासिन्दाको माग दावी रहेको छ ।
