‘मोन्था’ नामक सामुद्रिक चक्रवात नेपाल प्रवेश गर्दै, सतर्क रहन आग्रह
काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।
हाल भारतको विशाखापट्टनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेश र बागमतीका गरी २६ जिल्ला प्रभावित हुने बताएको छ।
कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको छ। मधेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने देखिएको छ भने बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली प्रभावित हुनेछन्।
त्यसो त मोन्था चक्रवातका कारण कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
‘जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिन्छ। उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ प्राधिकरणले भनेको छ।
