ट्रम्प र पुटिनको बुडापेस्ट शिखर बैठक रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्ध अन्त्यका लागि गर्न लागिएको शिखर बैठक रद्द भएको छ।
अमेरिका र रूसका नेताहरू आगामी साताहरूमा हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने तयारीमा थिए। तर अमेरिकी विदेश मन्त्री मार्को रूबियो र रूसी विदेश मन्त्री सेर्गेइ लावरोभबीच सोमबार टेलिफोन कुराकानी भएपछि यो योजना स्थगित गरिएको हो। बैठक रद्द भएको सूचना ह्वाइट हाउसले मंगलबार पुष्टि गरेको ‘द फाइनान्सिय टाइम्स’ ले लेखेको छ।
विदेश मन्त्री रूबियो र लावरोभबीच फोनवार्ता फलदायी भयो, त्यसैले थप प्रत्यक्ष भेट आवश्यक ठानिएको छैन,’ ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, ‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच निकट भविष्यमा अब कुनै बैठकको योजना छैन।’
ट्रम्पले गत बिहीबार पुटिनसँग टेलिफोन वार्ता गरेपछि बुडापेस्टमा भेट्ने घोषणा गरेका थिए। दुवै नेताहरू अन्तिम पटक अगस्टमा अमेरिकाको अलास्का राज्यको एन्कोरेजमा भेटेका थिए। तर ती शान्ति वार्ताले कुनै ठोस नतिजा दिन सकेन।
युक्रेन युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरू गर्न चलिरहेको कूटनीतिक प्रयासबीच बुडापेस्ट शिखर बैठक घोषणा गरिएको थियो। तर घोषणा भएको पाँच दिनमै बैठक रद्द भयो।
पछिल्लो समय पुटिनको जिद्दीपनबाट ट्रम्प रूष्ट हुन थालेका छन्। उनले युक्रेनलाई लामो दूरीका टोमहक मिसाइलहरू दिने संकेत गरेका छन्। यसले युक्रेनी सेनालाई मस्कोभित्रै हमला गर्न सक्षम बनाउनेछ।
