नेपाली सेना कुनैपनि सम्भावित चुनौतीको सामना गर्न तयार

काठमाडौं ।  जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका देखिएको भनिएको तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी) समूहबारे नेपाली सेनाले पनि अध्ययन गरिरहेको जनाएको छ। सेनाको युद्धकार्य विभागका प्रमुख अनुपजंग थापाले जेनजी आन्दालनपछिको मुलुकको शान्ति सुरक्षाको स्थिति स्पष्ट पार्न शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहबारे सञ्चारकर्मीलाई यस्तो जवाफ दिएका हुन्।

‘यो समूहको बारेमा विभिन्न कुराहरु बाहिर र सञ्चारमाध्यममा आएका छन्। हामी पनि अध्ययन गरिरहेका छौँ। यहाँहरूलाई पनि त्यसबारेमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गरिदिनुहोस्,’ उपरथी थापाले भने। २३ गतेको आन्दोलनमा मोटरसाइकलमा निस्किएको यो समूहले नै शान्तिपूर्ण रुपमा चलिरहेको जेनजी आन्दोलन भड्काएको आरोप छ।

मोटरसाइकल पड्काउँदै भीडलाई उस्काउने र अगाडि बढ्न यो समूहले उस्काएको भिडिओहरू सार्वजनिक भएका छन्। यस्तै समूहकै एक सदस्यले हतियार पनि प्रदर्शन गरेको देखिएपछि प्रहरीले एक जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सेनाले पनि यो समूहबारे बुझ्ने काम भइरहेको बताएको हो।

भदौ २३ र २४ गते देशभरका ४ सय ८४ स्थानमा आन्दोलन

यसैगरी भदौ २३ र २४ गते देशभरका ४ सय ८४ स्थानमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ । सेनाकाअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको बताए ।

उनले २ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताए । आन्दोलनका क्रममा देशभरबाट १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएको नेपाली सेनाले जनाएको छ ।

सेनाकाअनुसार ८ हजार ७ सय ९९ पक्राउ र फिर्ता भएका छन् । त्यस्तै ९ सय ७८ हतियार लुटिएकोमा ५ सय ८६ हतियार फिर्ता ल्याइएको बताएको छ । आन्दोलनका क्रममा मृत्यु भई टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको बताए । विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले चुनौतीपूर्ण रहेको बताए । सबैले पहल गरेको खण्डमा निर्वाचनको लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जाने र समयमै निर्वाचन गर्न सकिने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेपाली सेनाले आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको बताएको छ । नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताए । त्यसका लागि नेपाली सेनाले आफ्नो श्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेको बताए ।

उनले आन्दोलनको क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी एवं तिनीहरूको सम्मिश्रणबाट आम समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको बताए । हतियार र कैदीबन्दी फिर्ता गर्न सबैले साझा प्रयास गर्न अपिल गरे । राष्ट्रिय संस्कारलाई जगेर्ना गर्दै सबै मिलेर राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न हातेमालो गर्न आह्वान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर