गृहमन्त्रीको संकेत : ओली, लेखकविरुद्ध उजुरी पर्यो, पक्राउ पर्छन्
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही गर्नुपर्ने माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढालाई गृहमन्त्री ओमप्रकाश अर्यालले अनशन तोड्न आग्रह गरेका छन् ।
बुढा तीन बुँदे माग राख्दै अनशन बसेका हुन् । जसमा तेस्रो बुँदामा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सीडीओमाथि आन्दोलनका क्रममा गोली प्रहार गर्ने जिम्मेवारीमा रहेका व्यक्तिलाई निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने भनिएको थियो ।
यसबारे गृहमन्त्री अर्यालले भने, ‘यो चाहिँ जाहेरी परिसकेको छ ।’ अर्यालले पीडितले न्यायका लागि जुन संयन्त्र रोज्छन् , जाँचबुझ आयोग वा नियमित फौजदारी प्रणाली त्यही अनुसार कानुनसम्मत कारबाही हुने बताए ।
उनले थपे, ‘कानुनसम्मत रूपमा दर्ता हुनुपर्छ, दर्ता नहुने हो भने कारण खुलाउनुपर्छ र जिम्मेवारी लिनुपर्छ । न्यायको बाटो अवरुद्ध गर्ने व्यक्तिलाई राज्यले चिन्नुपर्छ र उसले जिम्मेवारी लिनुपर्छ । इतिहासले पनि यसलाई मूल्यांकन गर्नेछ ।’
