विपिन जोशीको अवस्था अझै अज्ञात रहेको परराष्ट्रको भनाइ
काठमाडौं । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आज सोमबार बिहान इजरायलको स्थानीय समयअनुसार ७:३० बजे इजरायली सेना (आईडीएफ) ले इजरायलका लागि नेपाली राजदूत, जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक आयोजना गरेको थियो।
उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीको सूचीमा जोशीको नाम समावेश नभएको र उहाँको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जोशी इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्वका क्रममा हमासको कब्जामा परेका थिए। प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको भए पनि ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी जोशी रिहा हुने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो।
नेपाल सरकारले विगत दुई वर्षदेखि जोशीको सकुशल रिहाइका लागि विभिन्न तहबाट कूटनीतिक प्रयास गर्दै आएको छ। मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ।
