बिपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
काठमाडौं । असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा शुक्रबारबाट यातायात पुनः सञ्चालन हुँदैछ । सङ्घीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यो राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण भएसँगै यातायात सञ्चालन हुने भएको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख ई. सुमन योगेशले राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण अन्तिम चरणमा रहेको र बिहीबार रातभरिमा काम सम्पन्न हुने बताउँदै शुक्रबारबाट यातायात सञ्चालनमा आउने जानकारी दिए । सडक डिभिजन भक्तपुरअन्तर्गत यस राजमार्गको पुनर्निर्माण भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना नेपालथोकसम्म क्षतिग्रस्त राजमार्गमा डाइभर्सन निर्माण गरिएको हो ।
यो राजमार्गमा दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा दैनिक १५ हजार र अरू समय दैनिक आठदेखि १० हजारसम्म सवारीसाधन आवतजावत हुने गर्दछ । बाढीपहिरोबाट अवरुद्ध भएपछि यो राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनले झन्डै दोब्बर तेब्बर दूरी तय गर्नुपर्ने बाध्यता थियो । २०७२ को विनाशकारी भूकम्पले समेत यो राजमार्गको केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो ।
असोज १७ र १८ गतेको अविरल वर्षाले बिपी राजमार्गका १६ स्थानका डाइभर्सन बगाएको थियो । सडक विभागका अनुसार बाढीले १६ स्थानका तीन हजार ४१० मिटर डाइभर्सन बगाएको थियो । गत वर्ष असोज १२ गतेको बाढीपहिरोले क्षतविक्षत बनाएको सो राजमार्गको १६ स्थानमा पाँच हजार तीन सय मिटरको डाइभर्सन बगाएको थियो । रोसी खोलामा आएको बाढीले गत वर्ष असोजमा जस्तै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिने गरी र पैदलसमेत हिँड्न नसक्ने गरी तहसनहस बनाइदिइएको थियो ।
