काठमाडौंमा आज भारी वर्षा नहुने, मनसुन कोशीतिर सरेर त्यहीँबाट बाहिरिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा आज ठुलो वर्षाको सम्भावना नरहेको जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभाव देशभर रहे पनि काठमाडौं उपत्यकामा ठुलो पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर भई कोशी प्रदेशतिर सरेको विभागका मौसमविद्हरूले बताएका छन् ।

उनीहरूका अनुसार शुक्रबारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सरेको र आज साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना छ । बागमती प्रदेशमा लगातार वर्षा वा भारी वर्षा (२४ घण्टामा ५० देखि १०० मिलिमिटर) को सम्भावना नरहेको बताइएको छ ।

हाल पानी पार्ने प्रणाली कोशी प्रदेशमा केन्द्रित रहेको छ । यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मका तराईका भूभागमा धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कोशी र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि यो प्रणाली पनि कमजोर हुने मौसमविद्हरूको अनुमान छ । विशेषगरी इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा छिटपुट रूपमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोबाट मत्थर हुँदै जानेछ ।

गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो । सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ देखि ३५२ मिलिमिटरसम्म मापन गरिएको थियो । गौरमा ३३४, गरूडामा ३०४.६, पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, निजगढमा २६१.४, सिन्धुलीको हरिहरपुरगढीमा २९५, मकवानपुरगढीमा २१०, ललितपुरको गोदावरीमा १७८.८, काठमाडौंको नैकापमा १४१.६ र सुन्दरीजलमा १४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । पूर्वी नेपालका इलाम (टि इस्टेटमा २९०.६, हिमालीमा ३३५.४) र झापा (बाहुनडाँगीमा २४६.४) लगायतका क्षेत्रमा पनि अति भारी वर्षा भएको थियो ।

आगामी २४ घण्टाको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार आइतबार दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी र मधेश प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना कायमै रहेको विभागले जनाएको छ ।

आइतबार राति कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । यी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर