अविरल वर्षाका कारण सवारीसाधन होल्ड, नागढुङ्गाबाट २५० सवारीसाधन फर्काइए
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौं बाट धादिङ र मकवानपुर भएर बाहिरिने सडकखण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।
पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।
धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उहाँले बताउनुभयो ।
हेटौँडा–काठमाडौं सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताउनुभयो ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गर्नुभएको छ । उहाँले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गर्नुभएको छ ।
