ज्ञानेन्द्र शाहले आफैंले लेख्न थाले “पूर्व श्री ५ महाराजाधिराज”
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी–२०८२ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राष्ट्रिय एकता, सुधार र युवा पुस्ताको भूमिकामाथि जोड दिएका छन् । शाहले पहिलो पटक सार्वजनिक विज्ञप्तिमा आफ्नो ओहदालाई “पूर्व राजा” भनी नामांकित गरेका छन् । यसअघि उनले विज्ञप्तिमा आफूलाई “श्री ५ महाराजाधिराज” भनी लेख्ने गर्दथ्यो । साथै पूर्वराजाले राष्ट्र चरम विध्वंश र शोकमा रहेको उल्लेख गर्दै विगतमा जस्तो टीका–जमरा प्रदान नहुने र पारिवारिक रूपमा पर्व मनाउने सन्देशमा बताएका छन् ।
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०८२ विजया दशमीको उपलक्ष्यमा बक्सेको शुभकामना
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
हामी नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ । नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान–प्रदान गरिने दशैं पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरूमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं ।
हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको छ । कुनै परनिर्भता वा भू–राजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नुपरेको छ ।
हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो । हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रवन्ध परिपाटीमा जन मनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खातिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्ने पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अंगाल्नु पर्दछ । युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मूल्य, मान्यताको ख्याल राख्नै पर्दछ । युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ हुन् । उनीहरूमा निहित देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ । यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परें । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।
सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ । जे भयो भयो, जे–जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।
यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तररूपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं । श्री नवदुर्गाभवानीले हामीलाई दिब्य पथतर्फ अग्रसर राखून् – यही हाम्रो कामना । जय नेपाल !
