वर्षा र पहिरोका कारण देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध

काठमाडौं । वर्षा र पहिरोका कारण देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट ढुङ्गा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, म्याग्दी बेनी–दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहान ५ः२५ बजे म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ खण्डमा माथिबाट लेदो, माटोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
चितवनको मुग्लिङ–नारायणगढ खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असोज ३ गते साँझ ६ः२५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो खसेको थियो । उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या भइरहेको प्रहरी नायव महानिरीक्षक घिमिरेले जानकारी दिए ।
“उक्त खण्डमा पटकपटक पहिरो जाने समस्या छ । अस्ति शुक्रबारदेखि निरन्तर खसेको पहिरो पन्छाउने क्रम जारी रहेकाले आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ । माथिबाट पहिरो खस्न पनि रोकिएको छैन”, उनले भने ।
बाढीका कारण रसुवास्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा बाढी आइरहेकाले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको प्रहरी नायव महानिरीक्षक घिमिरेले जानकारी दिए ।
त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थितमा जाजरकोट–डोल्पा खण्ड (भेरी करिडोर) अवरुद्ध रहेको प्रहरीले जनाएको छ । भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध रहेको प्रवक्ता घिमिरेले बताए ।
मनसुन अवधिभर बिपी राजमार्ग रातिको समयमा बन्द रहने
मनसुन सक्रिय भएकाले वर्षात्का कारण विपद्को घटना हुन नदिनका लागि बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ । अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो । अन्य निजी सवारीसाधन सञ्चालन रहेको प्रहरीले जनाएको छ ।