आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पूरा भएको छ ।

संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रूपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछन् । अहिलेको विशेष राजनीतिक अवस्थामा विभिन्न झाँकीलगायतका कार्यक्रम न्यून रूपमा आयोजना गर्ने भएको छ । संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा बहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकोमा पछिल्लो आन्दोलनबाट जनधनको क्षति तथा विषम अवस्थाले त्यस्ता कार्यक्रम नहुने भएका छन् ।

संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा मनाउन अघिल्लो सरकारले गएको भदौ ८ मा मूल समारोह समिति गठन गरेको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर