प्रधानमन्त्री कार्कीलाई साष्टांग दण्डवत् गरेका सुदनले किन राजीनामा मागे ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढाएसँगै असन्तुष्ट समूहहरूले प्रदर्शन सुरू गरेका छन् । जेनजी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरुङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि चर्को नाराबाजी गर्दै प्रधानमन्त्री कार्कीको राजीनामासमेत माग गरेको हो।
आफूहरूसँग कुनै सल्लाह नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै सुदन गुरुङ समूह आक्रोशित बनेको थियो । प्रदर्शनमा जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा मृतकका आफन्तसमेत सहभागी थिए । गुरुङले आक्रोशित मुद्रामा भने, ‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन । जुन ठाउँमा हामीले राखेका छौं, त्यहीँबाट थुतेर निकाल्छौं ।’ उनले अधिवक्ता ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘ओमप्रकाश अर्याल, लयर… उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर !’ भन्दै कटाक्ष गरे । ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासमेत लगाइएको थियो ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।