हिंसा र विध्वंश देख्दा आफूलाई नेपाली भन्न लाज लाग्यो : प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताएकी छन् । सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि उच्च पदस्थ कर्मचारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले ६ महिनामा चुनाव गरेर आफू बिदा हुने बताइन् ।

‘म रहरले आएको होइन, सडकबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठेपछि म विवश भएँ,’ उनले भनिन्, ‘म सत्ताको रस्वा स्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन । ६ महिना मात्रै बस्ने हो । त्यसपछि कुनै हालतमा नबस्ने, काम गरेर मुक्त हुने हो । नयाँ आउने सांसद/मन्त्रीलाई जिम्मेवारी र दायित्व सुम्पने अठोट गरेका छौं । यो अठोटमा सबैको साथविना सम्भव छैन । सुरक्षा निकायले साथ नदिए सम्भव छैन ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा छानछानी अपरिहार्य संस्थालाई शून्यमा पुर्‍याइएको उनले बताइन् । सर्वोच्च अदालत, सिंहदरबारसहितका महत्त्वपूर्ण संस्थामाथि छानीछानी आक्रमण गरिएको उनको भनाइ छ । ‘कुन परिस्थितिमा अन्तरिम सरकारको गठन हुनुपर्‍यो यो सबैलाई थाहा छ । २७ घण्टामा जनधनको क्षति भयो । ४० बढी युवाले मृत्युवरण गरे, सुरक्षा निकाय, प्रहरीका निकाय, सर्वोच्च अदालत, तराईका सबै जिल्ला अदालत, उच्च अदालत, सिंहदरबार जल्यो । रेकर्ड, प्रमाण, सर्वोच्च अदालतका सबै प्रमाण नष्ट भयो,’ कार्कीले भनिन्, ‘भौतिक क्षति बनाउन सकिन्छ । रेकर्ड, फाइल र विवरण नष्ट भएर यतिखेर शून्यमा पुगेका छौं । सुरक्षाकर्मीको पनि देहावसान भयो । देशभरका सुरक्षाकर्मीको वाहन नष्ट भयो । अर्को खरिद नगरी नहुने अवस्था छ ।’

‘यसपल्टको हत्या, हिंसा, आगजनी, टिपिकल देखियो । मुलुकको आवश्यक संस्थामाथि छानीछानी प्रहार भयो । सुरक्षाकर्मीहरूमाथि प्रहार भयो, चौकी जले । अदालतका फाइल, सिंहदरबारका महत्त्वपूर्ण फाइल जले’, उनले भनिन्, ‘अत्यन्त आवश्यक संस्था, देशको शासन सञ्चालन चलाउने कागज र मिसिल नष्ट भयो ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

यस्तो हिंसा र विध्वंश देख्दा आफूलाई नेपाली भन्न लाज लागेको उनको भनाइ छ । ‘यो देखेर लाज लाग्यो, नेपाली नै भएर यस्तो गरेको भए कसरी नेपाली भन्ने ? देशमा पहिलोपटक यस्तो भयो । अनुहार देखाउनै नसक्ने भयो । यो योजनाबद्ध षडयन्त्र हो’,  कार्कीले भनिन्, ‘अनुसन्धान गरेर प्रहार र नोक्सान गर्नेलाई, अपरिहार्य वस्तुको नामेट पार्नेलाई कारबाही हुनुपर्ने अवस्था छ, खोजबिन गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर