भरे साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु, आज दिनभर निषेधाज्ञा

काठमाडौं । देशको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । बढ्दो अराजकता र हिंसात्मक गतिविधिको नियन्त्रणका लागि आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको हो ।
सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगका लागि नेपाली सेना सबै राष्ट्रवासीहरूप्रति कृतज्ञता ज्ञापन गर्दछ ।’
आन्दोलनको नाममा भइरहेका विभिन्न अराजक गतिविधिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले यस्ता अपराधजन्य कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सेनाका अनुसार, आन्दोलनको आडमा विभिन्न अराजक व्यक्ति तथा समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंस्रक आक्रमण र बलात्कार प्रयासजस्ता जघन्य क्रियाकलाप गरिरहेको तथा यस्ता गतिविधि अझै बढ्न सक्ने सम्भावना रहेको छ । सेनाले यस्ता कार्यलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने स्पष्ट पारेको छ ।
कर्फ्यूको समयमा पनि अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू) भने सञ्चालन हुन पाउनेछन् । सेनाले आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सबैलाई अनुरोध गरेको छ ।
यस क्रममा, नेपाली सेनाले सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न आग्रह गरेको छ । सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वमा निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
सेनाले विषम परिस्थितिमा सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहेको भन्दै परिस्थितिको जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुऱ्याउन हार्दिक अपिल गरेको छ ।