पशुपतिनाथ मन्दिरको सुरक्षार्थ सेना परिचालन, हिंसा नरोकिए आजै राती १० बजेबाट सेना तैनाथ हुने

काठमाडौं । जेनजीको नाममा हिंसात्मक प्रदर्शनले उग्र रूप लिने क्रममा केही प्रदर्शनकारी राष्ट्रको आराध्य देव भगवान पशुपतिनाथको मन्दिर तोडफोड र आगजनी गर्न मन्दिर परिसरतर्फ अगाडि बढिरहेको सूचना सुक्षाकर्मीहरूले प्राप्त गरेपछि पशुपतिनाथ मन्दिरको सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ । सेनाले गौशालाभन्दा पूर्वतर्फ कसैलाई पनि जान निषेध गरेको स्थानीय वासिन्दाहरूले बताएका छन् ।

यसैबीच नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

सेनाले मंगलबार साँझ प्रेषित विज्ञप्तिमा हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन आग्रह गरेको हो ।

सेनाले यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जनाएको छ ।

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा

१. हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्नरनगराउन नेपाली सेना पुनः आग्रह गर्दछ ।

२. यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं । सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं ।

३. तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर