जेन-जी प्रदर्शनमा नेपाली सेनाले गोली नचलाएको सेनाको प्रष्टोक्ति

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा नेपाली सेनाले गोली नचलाएको बताएको छ। नेपाली सेनाले आफ्ना नागरिकप्रति सामान्यतया गोली चलाउँदैन। कर्फ्यु लागेपछि शान्ति सुरक्षा कायम राख्न सेना परिचालन भए पनि गोली चलाउने काम नेपाली सेनाबाट नभएको जानकारी सैन्य अधिकारीले दिएका छन्।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाले गोली नचलाएको जानकारी सञ्चारमाध्यमहरूलाई दिएका छन्। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा जेनजी पुस्ताले गरेको प्रदर्शन उग्र भएपछि गोली चल्दा सोमबार साँझ १७ जना काठमाडौँ र बाहिर तीन गरी २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यसैगरी २२ जना गम्भीर घाइते भएका छन् भने दुई सय बढी घाइते भएका छन्।
प्रदर्शनकारीहरू संसद् भवनभित्र समेत प्रवेश गर्न लागेपछि नेपाली सेनाले समेत गोली चलाएको भनिए पछि सेनाले आफूहरूले गोली नचलाएको जानकारी दिएको हो। प्रवक्ता बस्नेतले भने, ‘हामी स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि शान्ति सुव्यवस्था कायम गर्न र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सहयोग गर्न गएका थियौँ। हामी पुग्नुभन्दा पहिले नै त्यहाँ गोली चलिसकेको थियो। सेनाले कसैमाथि पनि गोली चलाएको छैन।’
प्रदर्शनमा सहभागी केही जेन-जीहरूले भने नेपाली सेनाले समेत गोली चलाएको आरोप लगाएका छन्। कर्फ्यु लागिसकेपछि पनि प्रदर्शनकारी संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले थप बल प्रयोग गर्दै गोली चलाएको थियो।