जेनजीको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा बालेनको समर्थन

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा जेनजीले सोमबार गर्ने भनेको र्यालीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समर्थन जनाएका छन् । आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू भने उमेर हदका कारण सहभागी हुन नसक्ने बताएका हुन् ।
जेनजी २८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मानिने र आफ्नो उमेर त्यसभन्दा माथि भएको भन्दै बालेनले आफू सहभागी हुन नसक्ने बताए । “भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ता आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला,” उनले लेखेका छन्, “म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपुर समर्थन छ ।”
काठमाडौंको माइतीघरमा जेनजीले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने
काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरूले अनुमति पनि लिइसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए।
‘हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार भोलि निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,’ उनले भने।
यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए। जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्।