फेसबुक बन्द भयो, २५ वटा सामाजिक सञ्जाल बन्द हुँदै

काठमाडौं । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक बन्द नेपालमा बन्द भएको छ । फेसबुक बाहेक अरु २५ वटा सामाजिक सञ्जाल प्लाटफर्महरु पनि क्रमश: बन्द हुँदै छन ।नेपालमा सूचिकृत हुन गरेको सरकारी आग्रहलाई नटेरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
आजै पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन लगत्तै प्राधिकरणले सूचिकरण हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्लाटफर्महरुलाई निष्कृय गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको थियो । त्यस लगत्तै फेसबुक बन्द भएको छ ।
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले करिब २६ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताएको छ ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति डा. शेखरको असन्तुष्टि
यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत् टिप्पणी सार्वजनिक गर्दै नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिबद्धता अनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।
‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ यो अन्दाज सरकारले लगाउन सक्छ ?’, कोइरालाले लेखेका छन्, ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्नेगरि नियमन गर्न म आग्रह गर्दछु ।’ अन्तिमपटक एक हप्ताको समयसीमा दिँदासमेत फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि सरकारले बिहीबारदेखि निष्क्रिय पारेको छ ।