चार दिनपछि कर्णाली राजमार्ग सुचारु, देशका १३ स्थानमा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन् । ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी काेरिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन् । सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारी साधन सञ्चालन भएका छन् ।
यसैबीच पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुलेको छ। कालीकोटको शुभकालिका–१ गगनेखोलामा शनिबार गएको पहिरोले अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो एकतर्फी खुलेको हो।
नेपाली सेनाले सोमबार ब्लास्ट गरेर पहिरोसँगै आएको ढुङ्गा फुटाएपछि मंगलबार सडक खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिनुभयो। वर्षा निरन्तर भइरहेकाले अझै पनि सडक अवरुद्ध हुन सक्ने प्रहरीको भनाइ छ। सडक खुलेसँगै चार दिनदेखि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेततर्फ गएका छन्। राजमार्गमा अलपत्र यात्रुको यात्रा अब सहज भएको छ।