अब निजामती कर्मचारीको उमेर हद अवकाश ५८ बर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ। चौतर्फी दबाब र छलफलपछि सरकारले यसै वर्षदेखि अवकाशको उमेर ५९ बर्ष पुर्याउने अडान परिवर्तन गर्दै हालकै ५८ वर्षे प्रावधानलाई निरन्तरता दिन सहमति जनाएको हो।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको मंगलबार बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारको नयाँ निर्णयबारे जानकारी दिएकी हुन्। ‘समितिमा यसअघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा अनिवार्य अवकाश उमेर ५८ वर्ष राख्ने कुरामा सरकार तयार भएको छ’, उनले बैठकमा स्पष्ट पारिन्।
यो निर्णय सरकार र सत्तापक्षको अघिल्लो दिनको अडानभन्दा ठीक विपरीत हो। सोमबारको बैठकमा मन्त्री न्यौपाने र सत्तारुढ दलका सांसदहरूले मुख्यसचिवसहित केही उच्चपदस्थ सचिवहरूको सेवा अवधि एक वर्ष थप्ने उद्देश्यले यसै वर्षदेखि अवकाश उमेर ५९ वर्ष बनाउनुपर्नेमा जोड दिएका थिए।
सरकारको पछिल्लो निर्णयसँगै हाल ५८ वर्ष उमेर पूरा गरेका कर्मचारीले यसै वर्ष अनिवार्य अवकाश पाउने निश्चित भएको छ। यो कदमले केही वरिष्ठ अधिकारीहरूको सेवा अवधि थप्ने प्रयासलाई विफल पारेको छ।