एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, आतंकवाद, साइबर आक्रमण, महामारीलगायत क्षेत्रीय र विश्वव्यापी चुनौतीवारे विश्व नेताको ध्यानाकर्षण गराएका छन् ।
चीनमा आयोजित ‘साघाई सहयोग संगठन (एससीओ) प्लस बैठक’मा सोमबार सम्बोधन गर्दै उनले बहुपक्षीयतालाई समयको अपरिहार्य आवश्यकता बताउँदै यसलाई सुदृढ र परिणाममुखी बनाउन शक्ति राष्ट्रहरूलाई आह्वान गरेका छन् ।
‘बहुपक्षीयता संकटमा छ तर यसलाई त्याग्नु समाधान होइन, अझै प्रभावकारी र समावेशी बनाउनैपर्छ,’ ओलीले भने । उनले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वैश्विक शासन प्रणालीलाई न्यायपूर्ण र दिगो बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले चीनको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई)लाई बहुपक्षीयतालाई मजबुत बनाउन सहयोगी हुने उल्लेख गर्दै एससीओलाई अझ एकताबद्ध, समन्वित र लचिलो बनाउनुपर्नेमा जोड दिए ।
नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार रहँदै आएको र अब पूर्ण सदस्यता पाउने आकांक्षा रहेको उनले बताए । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले ग्लोबल गभर्नेन्स इनिसियटिभ (जीजीआई)को प्रस्ताव राखेका छन् ।
चीनले राष्ट्रपति सीको नेतृत्वमा यसअघि नै तीनवटा पहल ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई), ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) अघि बढाइरहेको छ । एससीओ प्लसको बैठकमा सोमबार उनले नयाँ पहल ‘जीजीआई’ अघि बढाउने घोषणा गरेका हुन् ।
‘म सबै देशहरूसँग मिलेर अझ न्यायपूर्ण र समान विश्व शासन प्रणाली निर्माण गर्न तथा मानवताका लागि साझा भविष्य भएको समुदायतर्फ अगाडि बढ्न इच्छुक छु,’ सीले जीजीआई’ प्रस्ट पार्दै भनेका छन् ।
सीले जीजीआईका पाँच प्रमुख सिद्धान्तहरू हुने बैठकमा उल्लेख गरेका छन् । ती पाँच सिद्धान्तमा सार्वभौमिक समानतामा अडिग रहनुपर्ने, अन्तर्राष्ट्रिय कानुनी शासनको पालना गर्नुपर्ने, बहुपक्षीयताको अभ्यास गर्नुपर्ने, जनमुखी दृष्टिकोणको वकालत गर्नुपर्ने र वास्तविक कामहरूमा केन्द्रित हुनुपर्ने भन्ने छ । ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ सुरक्षा, विकास र सभ्यतासम्बन्धी उनका पुराना तीन इनिसिएटिभकै निरन्तरता हो ।
‘म सबै देशहरूसँग मिलेर अझ न्यायसंगत र समान विश्व शासन प्रणाली निर्माण गर्न चाहन्छु,’ सीले भनेका छन् ।