इम्बोस्ड नम्बर अंग्रेजीमै रहने मन्त्री दाहालको स्पष्टोक्ति

काठमाडौं । यातायातका साधनमा पेन्टरले लेखेका नम्बर प्लेटको सट्टा इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि फेर्न भनी जारी गरिएको सूचना संशोधन गर्दै सरकारले अर्को सूचना जारी गरेको छ। इम्बोस्ड नम्बर अनुकूल समयमा फेर्न सकिने गरी नयाँ सूचना जारी गरिएको हो ।
सरकारी समाचार च्यानल नेपाल टेलिभिजनसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्लेट फेर्ने समयमा लचकता अपनाइएपनि नम्बर प्लेटको भाषा भने अंग्रेजी नै रहने सरकारको अडान दोहोर्याए । २५ लाख वटा सवारीमा अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने ठेक्का सम्झौता भएकोले सरकारले सम्झौता तोड्न नसक्ने उनले बताए ।
अंग्रेजीको सट्टा नेपाली भाषा राख्न दायर रिट सर्वोच्च अदालतले नम्बर प्लेट सरकारी कामकाजको भाषा नभएको भन्दै खारेज गरेकोले ठेक्का अनुसारकै अंग्रेजी भाषामा प्लेट राख्नुपर्ने मन्त्री दाहालले बताए । उनले अंग्रेजी भाषाका इम्बोस्ड राख्ने विषयमा भारत, बंगलादेश र भुटानसँगै नोपलले पनि सम्झौता गरेकोमा भुटान त्यसबाट पछि हटेको जानकारी दिँदै उनले नेपाल भने उक्त सम्झौताबाट पनि पछि नहट्ने बताए ।
नेपालमा चल्ने सबै सवारीबाट नेपाली लिपि पूरै हटाउँदा नेपालको भाषिक पहिचान गुम्ने भन्दै नेपालीभाषीहरूले देवनागरीमै इम्बोस्ड नम्बर प्लेट बनाउन माग गर्दै आइरहेका छन् । सन् २०१५ मा भएको उक्त चारदेशीय सम्झौतामा नेपालको तर्फबाट तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सही गरेका थिए । सम्झौतामा ६ महिनाको सूचना दिएर सम्झौताबाट बाहिरिने प्रावधान अनुसार भुटान भने बाहिरिएको थियो ।