भारत-चीनबीच लिपुलेक सीमा व्यापार सम्झौतामा नेपालको विमति

काठमाडौं ।  नेपाली भूमि लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारको सम्झौता गरेकोमा नेपालले विमति प्रकट गरेको छ । सो सम्झौताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको ३ बुँदे जवाफ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ ।

नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यसैगरी नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको भन्दै परराष्ट्र प्रवक्ताले उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बताएका छन् ।

साथै नेपाल र भारतबीच रही आएको घनिष्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको उक्त वक्तव्यमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर