लिपुलेकमा नेपालको दावी नपुग्ने भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया

काठमाडौं ।  लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालले व्यक्त गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारतको आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।

उनले भने, ‘भारत र चीनबीच लिपुलेक नाकाबाट हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो र दशकौंदेखि निरन्तर चलिरहेको छ। कोभिड महामारी र अन्य कारणले केही समय रोकिएको यो व्यापार दुवै पक्षको सहमतिमा पुनः सुरु गरिएको हो ।’

नेपालले हालै यो व्यापार पुनः सुरु गरिएको विषयमा चासो व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेको थियो । तर, भारतले यस्ता दाबीहरूलाई अस्वीकार गर्दै यसलाई ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको छ ।

प्रवक्ता जैसवालले थपे, ‘भू–भागसम्बन्धी कुनै पनि एकपक्षीय, कृत्रिम दाबी स्वीकार्य हुँदैन । यस्ता दाबीहरू न त न्यायसंगत छन्, न त ऐतिहासिक तथ्यहरूमै आधारित छन् ।’

भारतले नेपालसँग बाँकी रहेका सीमासम्बन्धी मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिमार्फत् सकारात्मक रुपमा काम गर्न तयार रहेको पनि प्रवक्ताले बताए  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर