द्रुतमार्गको काम द्रुत गतिमा अघि बढ्ने : प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं-तराई, मधेस द्रुतमार्गको काम समयमै सक्ने फेरि प्रतिबद्धता जनाएका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सिंहदरबारमा आज बिहीबार बसेको रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे भएको छलफलमा प्रधानसेनापतिले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे । उनले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए । उनले अब बनाउनुपर्ने कामहरू छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने बताए ।
उनले भने, ‘हाम्रो भनाइ र सोचाइ काम समयमा सक्नुपर्छ भन्ने हो । ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिबद्ध छौँ । अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन् । धेरै जसो समय इआइए गठन, टेण्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ । समस्या समाधानहरू हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिनसक्छ । काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौँ । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाई छ । ऐतिहासिक र धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री स्ने ठाउँहरू छन् । त्यसलाई छोडेर नै नयाँ डिपिआर तयार पारेका छौँ ।’
प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाकबाहेकका अन्य योजनाहरू खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीयहरूबाट नहुने बताए । अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको बताए । ठेकेदारहरूबाट समयमा काम नभएको समस्या रहेको पनि गुनासो गरे ।