धनुषामा लागूपदार्थका कारोबारीमाथि गोली प्रहार, नेपालगन्जमा २२ लाख नगद बरामद

काठमाडौं ।  बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँ बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो । त्यस क्रममा नेपाली र भारतीय गरी रु २२ लाख तीन हजार ९१५ सहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

यस्तै, उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ । घटनामा अवरोध सिर्जना गर्न खोजेका चार जनालाई पक्राउ गरिएको र तीमध्ये दुईलाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

यसैगरी धनुषामा गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । दुवैलाई आज मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा बा८७ना ९६७ नंको मोटरसाइकल चेक गर्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले एक राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि अर्को राउन्ड प्रहार गर्दा पप्पुको खुट्टामा लागेको थियो । घाइतेको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर