मध्य पहाडी लोक मार्ग पूर्ण अवरुद्ध

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पर्ने मध्य पहाडी लोक मार्गमा झरेको पहिरोले सडक अवरुद्ध बनेको छ । आज सोमबार बिहान करिब ९ बजेको समयमा सडकमा झरेको पहिरोले उक्त खण्ड पूर्ण अवरुद्ध बनेको हो ।
अविरल वर्षाका कारण सडकको करिब सय मिटर माथिबाट पहिरो खस्दा १० मिटर सडक ढाकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सोही पहिरोले दाम्ली-डिकुवा जाने भित्री कच्ची सडक खण्डमा झन्डै २० मिटर सडक ढाकी सडक पूर्ण रूपमा अवरोध भएको प्रहरीले उल्लेख गरेको छ ।
यस्तै, निरन्तर वर्षाका कारण मध्य पहाडी लोक मार्ग सडक खण्डमा पर्ने दिक्तेल-जयरामघाट सडक खण्डको विभिन्न स्थानहरूमा पहिरो गई सडक अवरुद्ध हुने क्रम बढेकोले सजक भई यात्रा गर्न प्रहरीको अनुरोध छ । यात्रा गर्दा मौसमलाई ध्यानमा राखी सम्बन्धित सरोकारवाला निकाय एवम् व्यक्तिहरूको नम्बरमा सम्पर्क गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध बनेको छ ।