आर्यघाटमा जलाइरहेको शवबाट मासुको टुक्रा र हड्डी चोरी, शव जलाउने व्यक्ति पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यसमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौशालाले शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको हो। काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको हो।
प्रहरीका अनुसार, घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेका थिए।
सोही क्रममा मृतकका परिवार र आरोपीहरूबीच विवाद र भनाभन भएको थियो। तत्कालै परिवारले गौशाला प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। पछि, मृतकका परिवारले आरोपीहरूविरुद्ध औपचारिक जाहेरी दिएका थिए। गौशाला प्रहरी वृत्तका सूचना अधिकारी, प्रहरी नायब निरीक्षक सुकदेव खनालका अनुसार घटना अत्यन्तै संवेदनशील र पहिलो पटक सुनिएको प्रकृतिको छ।
उनले भने, ‘शुक्रबार ढकालले सहयोगीलाई मासु र हड्डी प्याक गर्न लगाइरहेको देखेपछि परिवारजनले हामीलाई खबर गर्नुभयो। उजुरीपछि हामीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरेका छौँ। उनीहरूले उक्त मासु र हड्डी कसलाई र के प्रयोजनका लागि निकालेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ।’
मानव शवको अंग चोरी वा बिक्री गर्ने विषयमा नेपालको कानुनमा स्पष्ट व्यवस्था नभएकाले प्रहरीलाई कारबाही अघि बढाउन कानुनी जटिलता देखिएको छ। यद्यपि, प्रहरीले उनीहरूलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। यस कार्यका लागि विशेष कानुनको अभावमा यस्तो बाटो अपनाउनु परेको प्रहरीको भनाइ छ। अनुसन्धानको निष्कर्षपछि कुन कानुनअनुसार कारबाही गर्ने भन्ने विषयमा कानुन व्यवसायी र सरकारी वकिलसँग सल्लाह गरिने खनालले बताए।
प्रारम्भिक अनुसन्धानका अनुसार, ढकालले शवबाट निकालिएको हड्डी र मासु ५०० रुपैयाँमा बेच्ने योजना बनाएका थिए। सो रकममध्ये ४०० रुपैयाँ आफूले राख्ने र १०० रुपैयाँ सहयोगी मैनाली थरका व्यक्तिलाई दिने सहमति भएको खुलेको खनालले जानकारी दिए।
अघोरी बाबासँगको मिलेमतोको आशंका
दहन भइरहेको शवबाट अंग झिकेर अरुलाई दिने कुरा सामान्य नभएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्रकुवेर खापुङ बताउँछन् । यद्यपि, यस्तो घटनाको अनुसन्धान कुन विधि, कानुन र शैलीमा गर्ने भन्नेबारे अहिलेसम्म त्यस्तो कुनै योजना नबनेको उनले बताए ।
शुक्रबार पक्राउ परेका घाटेसँगको सोधपुछपछि अनुसन्धानरत एक प्रहरीका अनुसार त्यस्तो हुनुका पछाडि घाटे र अघोरी बाबाबीचको साँठगाँठ हुनसक्छ । कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने हुन्छन् ।
जीवित मानवबाट रगत र मासु संकलन गर्ने कुरा सम्भव नहुँदा शवको मासु निकालिएको हुनसक्ने प्रहरीको अनुमान छ । मानिसको नलीखुट्टाको हड्डी खेलाएर मसान जगाउने अघोरी बाबाले शव दहनको काम गर्ने घाटेसँग मिलेमतो गरेको अनुमान अनुसन्धानरत ती प्रहरीले गरेका छन् ।