इन्टरनेट पहुँच सबैका लागि मानव अधिकार हो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट पहुँच सबै नागरिकको मानव अधिकार र मौलिक अधिकार भएको बताएका छन्।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले इन्टरनेट पहुँचलाई सबैले पाउनुपर्ने कुरा संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पनि मानव अधिकारको रूपमा पारित गरिसकेको बताए। उनले नेपाल सरकारले टेलिकम मार्फत देशका सबै घर–परिवारसम्म इन्टरनेट सेवा पुर्याउन सबै प्रयास गरिरहेको बताए।
उनले अहिले नेपालभर फोरजी सेवा विस्तार गर्ने र चालु आर्थिक वर्षमै फाइभजी सेवा काठमाडौँ र पोखरामा सुरू गर्ने योजनामा सरकार लागिपरेको जानकारी दिए। मन्त्री गुरुङले फाइभजी प्रविधि नआएसम्म एआई प्रविधिको सही उपयोग सम्भव नहुने पनि बताए।
उनले सबै नेपालीले सहज रूपमा इन्टरनेट पहुँच पाउनुपर्ने भन्दै यसलाई आजको सरकारले पुरा गर्नुपर्ने दायित्व भने।