युवामा देशप्रति चरम असन्तुष्टि, अवसर सिर्जना गर्न कांग्रेसले ठोस कार्यक्रम ल्याउनुपर्छ : थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशप्रति युवाहरूको चरम असन्तुष्टि बढ्दै गएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औं स्मृति सभामा बोल्दै उनले धेरै युवामा “देशमा बस्न योग्य छैन वा बस्न योग्य हुन सक्दैन” भन्ने मनोवृत्ति फैलिँदो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे।
थापाले युवाहरूको असन्तुष्टिलाई अपराध नभई वास्तविक भावनाको रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्रै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। “नेपालमा अवसरको कमी छ, र पाएका अवसरप्रति समेत धेरै युवाहरू सन्तुष्ट छैनन्,” उनले भने, नेपाली कांग्रेसले युवाप्रति लक्षित ठोस कार्यक्रम ल्याउनु आवश्यक छ।
पार्टीभित्र ‘चुनाव हारिन्छ कि’ भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको टिप्पणी गर्दै उनले कांग्रेसलाई बलियो बनाउन अग्रज नेताहरूको मार्गनिर्देशन पालन गर्न सबै नेताकार्यकर्तालाई आग्रह गरे।
स्मृति सभामा संघीय सांसद दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै आफू “एआई राजनीतिका लागि तयार” रहेको बताए।
कार्यक्रमसँगै रक्तदान तथा विद्यालय सामग्री हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
प्रतिक्रिया