नेपाली सेनाले रामेछाप–सिन्धुली जोड्ने सुनकोसी बेलीब्रिज मर्मत सुरु गर्यो

काठमाडौं । नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसी नदीको बेलीब्रिज मर्मतकार्य सुरु गरेको छ। गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका नटबोल्टहरू खुस्किएर जोखिम बढेपछि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो।

महोत्तरीको बर्दिवासस्थित सेनाको टोली बिहीबारदेखि बेलीब्रिज मर्मतमा लागेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

गत असोज १२ गते सुनकोसीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फ ५० मिटरको पुलको आधा भाग बगाएको थियो। त्यसपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सहकार्यमा उक्त बेलीब्रिज जडान गरिएको थियो।

हाल यातायातका साधनको चाप बढेसँगै पुल हल्लिन थालेको, केही भाग लच्किएको र नटबोल्ट खुस्किएर खुकुलो हुँदै गएकोले जोखिम बढेको बताइएको छ। १५ टनभन्दा बढी भार बोकेका सवारी साधनहरू पुलबाट सञ्चालन गर्न नपाइने भए पनि, कहिलेकाहीँ बढी तौलका साधनहरु पनि गुज्रिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार दुई दिनभित्र मर्मत पुरा गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर