सहकारी ठगीमा कांग्रेस–एमालेका नेतामाथि कारबाही माग, गृहमन्त्रीको नियतमाथि शाहीको प्रश्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताले सहकारी क्षेत्रमा गरेको ठगीका कारण लाखौं नेपालीको पसिनाको कमाइ जोखिममा परेको आरोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै शाहीले सहकारी ठगीमा संलग्न नेताहरूलाई तत्काल कारागार हाल्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन्। उनले भने, गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्नुहुन्छरु तपाईंको नियतमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।
शाहीका अनुसार, बचतकर्ताहरू बिचल्लीमा परेका र सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन् तर दोषीहरू अझै पनि उन्मुक्ति पाइरहेका छन्।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित कारागारमा राखिएको तस्बिरको प्रसंग उल्लेख गर्दै उनले यस घटनाले नेपालको न्याय प्रणालीमा गहिरो संरचनागत समस्या रहेको देखाएको दाबी गरे।
शाहीले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनु, आधारभूत आवश्यकता र अधिकारको सुनिश्चितता नहुनु तथा न्यायिक प्रक्रियामा ढिलासुस्ती हुनुजस्ता समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनको भनाइमा, संविधानले प्रत्याभूति गरेको निष्पक्ष न्याय र मानवीय व्यवहार वर्तमान न्यायिक प्रणाली र कारागार व्यवस्थाले सम्मान गर्न नसकेको अवस्था देखिएको छ।
