युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका यात्रुमाथि निगरानीका क्रममा ती महिला समातेको हो।
पक्राउ परेकी २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरा ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। उनी भुटान जाने क्रममा विमानस्थलको प्रस्थान कक्षमा पक्राउ परेकी हुन्।
जाँचका क्रममा उनको स्वेटरको कालो ब्राभित्र कण्डममा भरेर प्लास्टिकमा प्याक गरिएको करिब १ किलो ९५० ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ।
फेरेराविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यस घटनालाई अन्तर्राष्ट्रिय लागू औषध तस्करी सञ्जालसँग सम्बन्धित रहेको आशंका व्यक्त गरेको छ।
