मुख्यमन्त्री बानियाँद्वारा शपथ ग्रहण

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँलाई आज मङ्गलवार प्रदेश राजधानी हेटौंडामा पद तथा गोपनीयताको शपथ गराएको हो ।
बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री बानियाँसँगै नेकपा एमालेका ६ जना र नेपाली कांगेसका २ गरी ८ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएको छ ।
नेकपा एमालेबाट भौतिक तथा पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठ र स्वास्थ्य मन्त्री किरण थापामगर रहनु भएको छ । थापा सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिनुभएको हो ।
यस्तै नेपाली काँग्रेसबाट कृष्णबहादुर तामाङ खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री बन्नु भएको छ । काँग्रेसबाट नै मन्त्री बन्नु भएका शिवराज अधिकारीको मन्त्रालयको टुंगो भने केही दिनमा गरिने बताइएको छ ।
काँग्रेसको भागमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय रहेका छन् । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेको भागमा ६ वटा र नेपाली काँग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय रहेको छ ।