सशस्त्र प्रहरी बल नेपालमा ७७ जनाको बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका ७७ पदमा बढुवाका लागि सिफारिस गरेको छ। संगठनका केन्द्रीय प्रवक्ता एसएसपी कालिदास धौवजीका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) मा ६, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा ४८ जनाको बढुवा सिफारिस गरिएको हो।
प्रवक्ताका अनुसार, बढुवा सिफारिस गर्दा ज्येष्ठता, व्यावसायिक क्षमता र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ। यसले संगठनको वृत्ति विकास र सुरक्षा फौजको मनोबल अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिइएको छ।
एसएसएसपीमा सिफारिस भएकाहरू दोस्रो ब्याचका, एसपीमा सिफारिस भएकाहरू तेस्रो तथा चौथो ब्याचका छन्। डीएसपीमा बढुवा सिफारिस हुनेहरू भने नवौँ ब्याचका अधिकृतहरू हुन्।
सशस्त्र प्रहरी मुख्यालयले असार ३२ गते बढुवाको सूचना जारी गर्दै १५ दिनभित्र आवश्यक कागजातसहित बढुवा फाराम पेश गर्न निर्देशन दिएको थियो। योग्य उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणपत्रसहित बढुवा समितिको सचिवालयमा फाराम पेस गरेका थिए।
प्रतिक्रिया