प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तानको भ्रमणमा जजाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ ।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नुभएको हो ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ ।
लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित हुनेछ ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।
भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा यो तेस्रो सम्मेलन हुनलागेको हो ।
सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ ।
भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो ।
भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराउनुभएको छ ।