देशका धेरै ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाको अनुरोध छ।
गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा
यसैबीच गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाडौं, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटालगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि हल्का पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पगाउँमा १२० मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घयाङ्ग, मेलम्ची घयाङ्ग, भोताङ्ग वर्षामापन केन्द्रहरुमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र आसपासमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।