अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताएका छन् । काठमाडौंमा आज शनिबार आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा उनले उठ्न जमर्को गरे पनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको स्पष्ट पारेका हुन् ।
उनले नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरूले नेपाल राज्यलाई विध्वंश बनाइरहेको बताए । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएको उल्लेख गरे । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ । हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ । संघीय निजामती विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरू अपमानित हुनेगरी चलखेल र छेडखानी कसले गयो ? अदालत, ब्युरोकेसी सर्वत्र भ्रष्टाचार छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन छैन नेपालमा । उठ्न जमर्को गरे पनि त्यो उठ्नेवाला पनि होइन ।’
उनले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादविरुद्ध सबै एक हुने सङ्कल्प गर्न जरुरी रहेको बताए । “म पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भने, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।”
“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष दाहालले भने, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ रु त्यो त विगतमा देखियो नि ।”
अध्यक्ष प्रचण्डले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरुले अनुमोदन गरे पनि त्यो एकता नतिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए । “आजको अन्तरराष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उनले भने ।