दैनिक दुई हजार युवा रोजगारका लागि विदेसिँदै

काठमाडौं । वैदेशिक रोजगारीका लागि दैनिक झन्डै दुई हजार युवा बिदेसिन्छन् । युवालाई स्वरोजगार बनाएर देशभित्रै राख्ने यहीँ उद्यमी बनाउने नीति, योजना, कार्यक्रम र संस्था पनि सरकारसँग छ तर त्यसको कार्यान्वयन गर्ने निकाय भने एक वर्षदेखि नेतृत्वविहीन छ ।
सरकारले बेरोजगार युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष झन्डै एक वर्षदेखि प्रमुखविहीन भएको हो । कोषमा अध्यक्ष युवा तथा खेलकुदमन्त्री र कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । २०८१ भदौदेखि उपाध्यक्ष पद खाली रहेको छ ।
कोषमा एक वर्षदेखि उपाध्यक्ष नहुँदा स्वरोजगार बन्न प्रवाह गरिने कर्जा रोकिएको र बेरोजगारको सङ्ख्यामा कमी आउन सहयोग पुगेको छैन । यस प्रकरणले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने वा युवालाई स्वरोजगार बनाउने सरकारको कार्यशैलीमा प्रश्न उठेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले पाँच महिनाअघि उपाध्यक्ष नियुक्तिका लागि कमिटी गरी सिफारिस पनि गरिसकेको हो । मन्त्रालयका प्रवक्ता सुवासचन्द्र शिवाकोटीले गत फागुनमा उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गरेर मन्त्रीपरिषद्मा पठाइएको जानकारी दिए तर नियुक्ति भने भएको छैन । प्रवक्ता शिवाकोटीले भन्नुभयो, “हामीले उपाध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेर पठाउने हो । मन्त्रीपरिषद्ले नियुक्तिको निर्णय गर्नुपर्ने हो तर अहिलेसम्म भएको छैन ।”