पोहोरको भन्दा यस वर्ष १२ प्रतिशतले धान रोपाइँमा कमी

काठमाडौं । देशभर यस वर्ष करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिको तुलनामा यसपटक भएको रोपाइँ १२ प्रतिशतले कम हो ।
देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाइएको हो । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ ।
सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ । धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने मन्त्रालयले जनाएको छ ।