दुई श्रीमान छोडेर बसेकी प्रेमिकाले विवाह गर्न नमान्दा रिसको झोंकमा हत्या

काठमाडौं । विवाह गर्न नमानेको झोंकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विवाह गर्न नमानेको रिसको झोंकमा रामेछाप जिल्ला मन्थली नगरपालिका १३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ ।

प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रेमिकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले प्रेमिका हत्यामा संलग्न सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका १, डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका ९, नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिला उप्रेतीलाई विवाह गर्न प्रस्ताव गरेको र उनले नमानेपछि रिसको झोकमा योजनाबद्ध रूपमा हत्या गरेको बताए ।

“दुई वर्षदेखि सन्तोष र शर्मिलाको प्रेम सम्बन्ध रहेको देखिन्छ, सन्तोषले पटकपटक विवाह गर्न प्रस्ताव गरेको र शर्मिलाले टार्दै लगेपछि सन्तोषलाई शङ्का लागेपछि हत्या गरेको स्वीकार गरेका छन्”, प्रनाउ घलेले भने । असार ३२ गते घरबाट काम गर्नका लागि निस्केकी शर्मिलालाई घुम्न जाने भन्दै बनेपा नगरपालिका १३, भगवान् थुम्की सामुदायिक वनमा लगि दाउराले हानेर बेहोश पारी सलले घाँटीमा कसेर हत्या गरिएको प्रनाउ घलेले बताए ।

शर्मिलाको हत्या गरेका सन्तोष घटनास्थलमा आधा घन्टा बसेर शर्मिलाको शवलाई चिलाउनेको फेदमा कोल्टो पारी भागेका थिए । फरार रहेका सन्तोषलाई इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले आइतबार साँझ बनेपा नगरपालिका १०, इँटभट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रेमिका हत्याको आरोपमा पक्राउ परेका सन्तोषलाई सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रनाउ घलेले बताए । मृतक शर्मिलाको पहिलो श्रीमानतर्फ १६ वर्षीया एक छोरी, दोस्रो श्रीमानतर्फ नौ वर्षीया अर्की छोरी छन् । मृतक शर्मिला पछिल्लो समय दुबै श्रीमान् छोडी एक्लै बस्दै आएकी थिइन् । सन्तोष र शर्मिला दुई वर्षदेखि प्रेम सम्बन्धमा रहनुको साथै सँगै ज्यामी काम गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर