पहिरोबाट कागबेनी–कोरला सडक खण्ड अवरुद्ध

काठमाडौं । पहिरोका कारण जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक खण्ड अवरुद्ध भएको छ ।
कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा गए रातिको वर्षासँगै सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताए ।
मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने जानकारी दिए । उनले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको बताए ।
प्रतिक्रिया