गत वर्षको तुलनामा करिब ८ प्रतिशतले रोपाइँमा कमी

काठमाडौं । नेपालभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयका अनुसार, असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा करिब ८ प्रतिशतले कमी हो। गत वर्ष यस अवधिमा ६७ प्रतिशत धान रोपाइँ भएको थियो।
प्रदेशगत रूपमा हेर्दा, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९३ प्रतिशत (करिब १ लाख ६४ हजार हेक्टर) रोपाइँ भएको छ। त्यसपछि कर्णाली प्रदेशमा ८३ प्रतिशत (६४ हजार हेक्टर) र लुम्बिनी प्रदेशमा ७३ प्रतिशत (२ लाख २३ हजार हेक्टर) रोपाइँ सम्पन्न भएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार, धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्रलाई राम्रो मानिन्छ। तराई क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान पुग्छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिका कारण रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ।
मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार, देशका केही भागमा अझै रोपाइँ जारी छ। आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ। मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ। पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनका कारण यस वर्ष उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले घटबढ हुने जनाइएको छ। यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ।