अब अनलाइनमार्फत ट्राफिक नियम उल्लङ्घनको सचेतना कक्षा

काठमाडौं ।  ट्राफिक नियम उल्लङ्घन गरेपछि अनिवार्य लिनुपर्ने सचेतना कक्षा अब अनलाइन माध्यमबाटै लिन सकिने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ‘नागरिक एप’ मार्फत सञ्चालन हुने यस सेवाको औपचारिक सुरुवात गरेका हुन् ।

यो नयाँ व्यवस्थासँगै नियम उल्लङ्घन गर्ने चालकले अब जरिवाना तिरेपछि ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ । प्रहरीका अनुसार, देशभर जरिवाना तिरेर पनि सचेतना कक्षा लिन बाँकी रहेका चालकको सङ्ख्या ८३ हजारभन्दा बढी छ । यही समस्यालाई समाधान गर्दै सेवालाई सहज र प्रविधिमैत्री बनाउन अनलाइन कक्षा प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । अनलाइन कक्षा लिनका लागि निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ:

  • सबैभन्दा पहिले तोकिएको जरिवाना भुक्तानी गरेको हुनुपर्नेछ ।

  • त्यसपछि आफ्नो मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लास’ मा गई ‘जोइन क्लास’ मा ट्याप गर्नुपर्छ ।

  • यति गरेपछि एपमा देखाइएका सम्पूर्ण नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गर्नुपर्छ ।

  • अनि फोटो अपलोड भएपछि भिडिओ कक्षा सुरु हुन्छ र तोकिएको समयसम्म पूरा कक्षा लिनुपर्नेछ ।

  • कक्षा चलिरहेको बेला मोबाइलको क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ । यदि एक मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलो पटक चेतावनी दिइनेछ । यो प्रक्रिया तीन पटक दोहोरिएमा कक्षा स्वतः रद्द हुनेछ ।

  • कक्षाको अन्त्यमा सोधिने ६ वटा प्रश्नमध्ये कम्तीमा ३ वटाको सही जवाफ दिनुपर्नेछ । अनुत्तीर्ण भएमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।

  • कक्षा सफलतापूर्वक सम्पन्न भएपछि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको जानकारी देखिनेछ ।

परीक्षणका क्रममा ३९ हजारभन्दा बढीले यो प्रणाली भिजिट गरेको र पाँच हजारभन्दा बढीले सफलतापूर्वक अनलाइन कक्षा लिएको प्रहरीले जनाएको छ । यद्यपि, ग्रामीण भेगमा प्रविधिको पहुँच, दक्ष जनशक्तिको अभाव र आम नागरिकमा प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको कमी यसको कार्यान्वयनमा मुख्य चुनौती बनेर आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर